बीरगन्ज,१२ वैशाख । काठमाडाै–तराई फास्ट ट्रयाक परियोजना समयमै सम्पन्न नहुने देखिएपछि सरकारले नयाँ रणनीति अघि सारेको छ। अब एकैपटक चार लेन निर्माण गर्ने योजना स्थगित गर्दै पहिलो चरणमा दुई लेनको सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
राष्ट्रिय योजना आयोग ले यस प्रस्तावमा काम तीव्र पारेको जनाएको छ। निर्माणमा भइरहेको ढिलाइका कारण नागरिकले पाउनुपर्ने सुविधा प्रभावित भएको भन्दै तत्काल दुई लेन सञ्चालनमा ल्याउने विकल्प अघि बढाइएको हो। प्रस्ताव चाँडै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत नेपाली सेना लाई पठाइने तयारी गरिएको छ।
आयोगका अनुसार, जतिसक्दो छिटो काम सुरु गरिए पनि दुई लेन सडक २०८४ सम्म तयार हुने अनुमान छ। पहिलो चरणमा दुई लेन सञ्चालनमा ल्याउँदा नागरिकले छोटो दूरीको सुविधा पाउने र निर्माण ढिलाइको दबाब पनि कम हुने अपेक्षा गरिएको छ।
हाल द्रुतमार्गको भौतिक प्रगति ४५.८६ प्रतिशत मात्र पुगेको छ। विशेषगरी खोकना–डुकुछाप खण्डमा स्थानीयस्तरमा जग्गा अधिग्रहणमा देखिएको अवरोधका कारण काम प्रभावित भएको छ।
परियोजनाको हालको म्याद २०८३ चैतसम्म भए पनि त्यस अवधिमा निर्माण सम्पन्न हुने सम्भावना न्यून देखिएको छ। स्रोतका अनुसार, अब म्याद २०८६ सम्म थप्ने तयारी भइरहेको छ।
यो द्रुतमार्ग बाहिरी चक्रपथसँग जोड्ने गरी डिजाइन गरिएको भए पनि बाहिरी चक्रपथको काम समेत अघि बढ्न सकेको छैन। दैनिक १०–१२ हजार सवारी सञ्चालन हुने अनुमान गरिएको यस मार्गमा प्रारम्भिक रूपमा दुई लेनले केही वर्ष सवारी चाप धान्न सक्ने दाबी गरिएको छ।
सरकारले अब चरणबद्ध निर्माणमार्फत फास्ट ट्रयाकलाई चाँडो सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।

