काठमाडौं,१२ वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २,९०३ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार विभिन्न प्रकारका नियम उल्लंघनका कारण ती चालकहरूलाई जरिवाना गरिएको हो।
कारबाहीबाट कुल २५ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १२७ जना समातिएका छन् भने नियम विपरीत राइड सेयरिङ गर्ने २८१ जनामाथि पनि कारबाही गरिएको छ।
त्यस्तै, ट्राफिक संकेत उल्लंघन गर्ने २०० जना र तीव्र गतिमा सवारी चलाउने १७६ जना चालक पनि कारबाहीमा परेका छन्। लेन अनुशासन नमानेका ३१२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६५ जना, र तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ७४ जना चालकलाई पनि प्रहरीले जरिवाना गरेको छ।
यसका अतिरिक्त, अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने १,४९९ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले नियम पालनामा कडाइ गर्दै सुरक्षित सवारी आवागमन सुनिश्चित गर्न यस्तो अभियान जारी राखिएको बताएको छ।

