बीरगन्ज,१२ वैशाख । पोखरिया नगरपालिका मा ठूलो आर्थिक अनियमितताको आरोप सार्वजनिक भएको छ। उपप्रमुख रूवि ठाकुरले नगरपालिकाको खाताबाट करिब ७ करोड रुपैयाँ गायब भएको दाबी गरेकी छन्।
उनका अनुसार उक्त रकम नगरप्रमुख प्रयुक्त चौहान को एकल निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा अपारदर्शी रूपमा खर्च गरिएको हुन सक्ने आशंका छ।
उपप्रमुख ठाकुरले सशर्त अनुदानअन्तर्गत आएको रकम पारदर्शी रूपमा प्रयोग नभएको देखिएको बताउँदै लामो समयदेखि कर्मचारीहरूले तलब नपाएको, जनप्रतिनिधिहरूले भत्ता नपाएको तथा ठेकेदारहरूको भुक्तानीसमेत रोकिएको जानकारी दिएकी छन्। उनका अनुसार नगरपालिकाको प्रशासनिक र आर्थिक अवस्था अस्तव्यस्त बनेको छ।
उनले नगरप्रमुखले सामूहिक निर्णय प्रक्रिया बेवास्ता गर्दै एकल रूपमा आर्थिक निर्णय लिएको आरोपसमेत लगाएकी छन्, जसले सुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ।
यसअघि युवा संघ नेपाल पर्साका सचिव राकेश महतोले पनि आय–व्यय विवरण सार्वजनिक गर्न माग गर्दै निवेदन दिएका थिए। तर त्यसमा कुनै कारबाही नभएको भन्दै असन्तुष्टि बढ्दै गएको छ।
यता, आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेको बताइए पनि ठोस परिणाम नआएको स्थानीयहरूको गुनासो छ।
नगरपालिकाभित्र देखिएको आर्थिक विवाद र भुक्तानी अवरोधका कारण सेवा प्रवाहसमेत प्रभावित भएको छ। तर यस विषयमा नगरप्रमुख तथा सम्बन्धित अधिकारीहरूले हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।

