बीरगन्ज,१३ वैशाख । बारा जिल्लाको मधुवन क्षेत्रमा गरिएको रात्री गस्तीका क्रममा अवैध साल काठसहित एक व्यक्ति पक्राउ परेका छन्। डिभिजन वन कार्यालय बाराअन्तर्गतको टोलीले शुक्रबार मध्यराततिर उक्त कारबाही गरेको हो।
रेञ्जर उदय पुडासैनीको नेतृत्वमा खटिएको गस्ती टोलीले नियमित निगरानीका क्रममा एक थान सालको गोलिया काठ, एक आरा र एक साइकलसहित ४८ वर्षीय हिरा सहनीलाई नियन्त्रणमा लिएको डिभिजनल वन अधिकृत सुजित कुमार झाले जानकारी दिएका छन्। सहनी कलैया उपमहानगरपालिका–१५ बकुलहर निवासी रहेको खुलेको छ।
वन क्षेत्रमा अवैध कटानी भइरहेको सूचनापछि टोली परिचालन गरिएको थियो। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको वन कार्यालयले जनाएको छ।
वन कार्यालयका अनुसार पछिल्लो समय काठ चोरी र वन अतिक्रमणका घटना बढ्दै गएपछि रात्री गस्तीलाई अझ कडाइका साथ सञ्चालन गरिएको छ। यस्ता कारबाहीले वन संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। साथै, सफल अपरेसनमा खटिएका कर्मचारीहरूको प्रशंसा पनि गरिएको छ।

