काठमाडौं,१३ वैशाख । पर्सा–४ का सांसद टेकबहादुर शाक्यले देशमा लामो समयदेखि जरा गाडेको बेथिति अन्त्य गर्ने दिशामा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अघि बढिरहेको बताएका छन्। काठमाडौंमा आइतबार आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको ८औँ वार्षिक साधारणसभामा बोल्दै उनले विगत ३५ वर्षमा पुराना दलहरूको शासनकालमा देखिएका बेथितिहरूलाई सुधार गर्ने प्रयास भइरहेको उल्लेख गरे।
उनका अनुसार वर्तमान सरकार करिब दुई तिहाइ बहुमतको नजिक रहेकाले सुशासन स्थापना र प्रणालीगत सुधार गर्न सहज वातावरण बनेको छ। उनले संसद र सरकार दुवैबाट सुधारका कामलाई तीव्रता दिइने पनि बताए।
सांसद शाक्यले बजारमा पारदर्शिताको अभाव रहेको प्रसंगमा हाल लागू गरिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रणालीलाई सकारात्मक कदमका रूपमा व्याख्या गरे। “३५ वर्षको इतिहासमा देखिएका बेथितिहरूलाई थितिमा बदल्ने प्रयास भइरहेको छ,” उनले भने, “एमआरपी लागू हुनुअघि बजारमा रहेको अपारदर्शितालाई पनि हामीले सुधारको दिशामा लैजान खोजिरहेका छौँ। आत्तिनुपर्ने अवस्था छैन।”
उनले साना तथा मझौला व्यवसायीहरू विस्थापित हुने आशंका गलत रहेको दाबी गर्दै सरकारले नीति निर्माण गर्दा तथ्य, अध्ययन र सरोकारवालाको सुझावलाई आधार बनाउने विश्वास व्यक्त गरे। सांसद शाक्यले नेपाल आर्थिक रूपमा विकासशील देशतर्फ अघि बढिरहेको र सरकार आर्थिक सुधार तथा विकासमा गम्भीर रहेको पनि बताएका छन्।

