अल्टिमेटमपछि पथलैया–चुरियामाई सडकखण्डमा व्यवसायी स्वयं अवैध संरचना हटाउन थाले

spot_img

बारा,१३ वैशाख । महेन्द्र राजमार्गअन्तर्गत पथलैया–चुरियामाई सडकखण्डमा पर्ने अतिक्रमित संरचना हटाउने अभियानमा स्थानीय व्यवसायीहरू आफैं सक्रिय हुन थालेका छन्।

सडक डिभिजन कार्यालय हेटौंडाले तीन दिने अल्टिमेटम जारी गर्दै सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका संरचना नहटाए बल प्रयोग गरिने चेतावनी दिएको थियो। सोही निर्देशनपछि अमलेखगञ्ज क्षेत्रका व्यवसायीहरूले आफ्ना पसल तथा टहराहरू भत्काउन सुरु गरेका हुन्।

स्थानीय व्यवसायीहरूका अनुसार प्रशासनको कडाइपछि थप क्षति हुन नदिन स्वेच्छाले संरचना हटाइएको हो। “बलपूर्वक हटाउँदा अझ ठूलो नोक्सानी हुने भएकाले हामी आफैंले हटाएका हौं,” एक व्यवसायीले बताए।

कार्यालयका अनुसार सडक विस्तार, सवारी सुरक्षामा सुधार तथा दीर्घकालीन पूर्वाधार व्यवस्थापनलाई ध्यानमा राख्दै अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको हो। तोकिएको मापदण्डभित्र पर्ने सबै संरचना हटाइने र कसैलाई पनि छुट नदिइने स्पष्ट पारिएको छ।

यस अभियानसँगै राजमार्ग क्षेत्रलाई व्यवस्थित बनाउने र भविष्यमा हुने दुर्घटनाको जोखिम घटाउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय