काठमाडौं,१३ वैशाख । वर्षमान पुनले पुराना राजनीतिक दलहरूले आफ्नो कमजोरीको गम्भीर समीक्षा नगरे जनमत फर्काउन कठिन हुने बताएका छन्।
१७३औँ विश्व मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा आयोजित अन्तरक्रियामा बोल्दै उनले परम्परागत दलहरूको कमजोरीकै आधारमा नयाँ शक्तिहरू उदाएको स्वीकार गर्नुपर्ने बताए।
पुनका अनुसार लामो समय सत्तामा रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले र आफ्नै पार्टी नेकपाले पनि जनअपेक्षा पूरा गर्न नसक्दा नागरिकमा असन्तुष्टि बढेको हो।
उनले भने, “जनतामा निराशा बिना कारण आएको होइन। पुराना दल र नेतृत्वको विरोध हुँदा जनता किन खुसी भए भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक छ।”
पुनले राजनीतिक दलहरूले विभिन्न क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दा कहाँ कमजोरी भयो भन्ने प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थाप्रति घट्दो विश्वासबारे चिन्ता व्यक्त गरे। उनका अनुसार नागरिक संस्थाहरू कमजोर हुँदा वा अधिकार खुम्चिँदा समेत जनताबाट अपेक्षित प्रतिक्रिया नआउनु गम्भीर संकेत हो।
विश्व राजनीति सन्दर्भमा उनले उदार लोकतन्त्रप्रति निराशा बढ्दै जाँदा नवउदारवाद र त्यससँगै लोकप्रियतावादी प्रवृत्ति बढेको उल्लेख गरे। त्यही प्रभाव नेपाली राजनीतिमा पनि देखिएको उनको भनाइ छ।
पुनले जनमतलाई पुनः आफ्नो पक्षमा ल्याउन दलहरूले आत्मसमीक्षा गर्दै व्यवहार सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

