जनकपुर,१६ फागुन । जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सव–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा स्थायी नियुक्तिको लोभमा योजनाबद्ध रूपमा हत्या गरिएको निष्कर्ष प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले वैकल्पिक उम्मेदवारसहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान र हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
सिरहाको सुखीपुर नगरपालिका–९ घर भई हाल मलंगवा नगरपालिका–१० मा बस्दै आएका यादवलाई गत फागुन ३ गते साँझ करिब ७:५५ बजे फोन गरेर डेराबाट बाहिर बोलाइएको थियो। बाहिर निस्किएको केहीबेरमै उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। छातीमा गोली लागेको अवस्थामा फेला परेका उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो, जहाँ उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। पोस्टमार्टम प्रतिवेदनमा छातीमा लागेको गोली नै मृत्युको कारण उल्लेख छ।
अनुसन्धानका क्रममा महोत्तरी रामगोपालपुर नगरपालिका–५ घर भई बरहथवा–९ शान्तिटोलमा डेरा गरी बस्ने ३४ वर्षीय गणेश कुमार महतो मुख्य योजनाकार रहेको खुलेको छ। महतो रामनगर गाउँपालिकामा करार प्राविधिक सहायकका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार उनी मधेश प्रदेश लोकसेवा आयोग जनकपुरधामबाट सिफारिस भएको सहायक पाँचौँ तह सव–इन्जिनियर पदका एक मात्र वैकल्पिक उम्मेदवार थिए, जबकि सो पदमा मुख्य सिफारिस भएका व्यक्ति यादव थिए।
नियुक्ति भएको व्यक्ति एक वर्षभित्र पद रिक्त भए मात्र वैकल्पिक उम्मेदवारले अवसर पाउने कानुनी व्यवस्थाको गलत बुझाइका आधारमा महतोले हत्या योजना बनाएको प्रहरीको दाबी छ। यसअघि पनि पटक–पटक वैकल्पिक उम्मेदवार बनेर नियुक्ति नपाएको असन्तुष्टि समेत अनुसन्धानमा खुलेको छ।
प्रहरीका अनुसार महतोले ‘राकेश यादव’ नाम प्रयोग गरी मृतकसँग सम्पर्क बढाएका थिए। घटनाको दिन ह्वाट्सएप कलमार्फत बाहिर बोलाएर साथमा ल्याएको पेस्तोलबाट छातीमा गोली प्रहार गरी फरार भएका थिए। घटनामा बसबरीया गाउँपालिका–२ मानपुरका २२ वर्षीय चन्द्र किशोर सिंह कुशवाहा (महतोका साला) पनि संलग्न रहेको खुलेको छ। दुवै जना भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी घटनास्थल पुगेका र गोली प्रहारपछि फरार भएको जनाइएको छ। उक्त मोटरसाइकल भोलिपल्ट रौतहटको गढीमाई नगरपालिका क्षेत्रमा बेवारिसे फेला परेको थियो।
अनुसन्धानमा महतोका भाइ २२ वर्षीय विजय कुमार महतोको पनि संलग्नता देखिएको छ। प्रारम्भिक बयानअनुसार दशैंअघि नै ८० हजार रुपैयाँ दिएर हतियार खरिद गर्न लगाइएको र सोही पेस्तोल घटनामा प्रयोग भएको पाइएको छ। घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको छ। प्रयोग गरिएको भनिएको पेस्तोल केही दिनपछि मलंगवामा निर्माणाधीन मन्दिर परिसरमा फेला परेको थियो।
प्रहरीले गणेशलाई फागुन १२, चन्द्र किशोरलाई फागुन १३ र विजयलाई फागुन १४ गते पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट बरामद मोबाइल फोन र डिजिटल प्रमाणको प्राविधिक परीक्षण भइरहेको छ।
तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यान र हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। कानुनअनुसार ज्यान मार्ने नियतले गरिएको कसुरमा जन्मकैदसम्म सजाय हुन सक्छ भने अवैध हातहतियार कारोबारमा सात वर्षसम्म कैद तथा जरिवाना हुने व्यवस्था छ। प्रहरीले घटनालाई पूर्वयोजनाबद्ध आपराधिक षड्यन्त्रका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

