बुटवलमा सरकारी जग्गा अतिक्रमण हटाउन डोजर चल्यो

spot_img

बुटवल,१३ वैशाख । बुटवल उपमहानगरपालिका–४ मा उच्च अदालत अगाडि रहेको सरकारी जग्गामा बनेका अतिक्रमित संरचनाहरू हटाउन डोजर चलाइएको छ।

स्थानीय प्रशासनका अनुसार उक्त क्षेत्रमा रहेका करिब एक दर्जन टहराहरू शनिबार बिहानदेखि भत्काउन सुरु गरिएको हो। डोजर चलाउनुअघि नै टहराधनीहरूले आफ्ना सामान सुरक्षित स्थानमा सारिसकेकाले हटाउने काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

उक्त जमिन पहिले तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको थियो भने पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो। साविक कित्ता नम्बर ३९६ अन्तर्गत पर्ने विभिन्न कित्तामा बनेका संरचनाहरू हटाउने प्रक्रिया अघि बढाइएको हो।

वडा अध्यक्ष नरिश्वर शर्मा पौडेलका अनुसार उपमहानगरपालिकाले शनिबार साँझ नै माइकिङ गर्दै सरकारी जग्गा खाली गर्न निर्देशन दिएको थियो। सोही निर्देशनपछि स्थानीयले आफैं टहरा खाली गरेपछि कुनै अवरोध बिना संरचना हटाइएको उनले बताए।

सरकारी जग्गा संरक्षण अभियान अन्तर्गत पछिल्लो समय स्थानीय तहहरूले अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका छन्। संघीय सरकारले राजधानीमा सुकुमबासी बस्ती हटाउने कदम चालेसँगै अन्य सहरहरूमा पनि यस्ता अभियान सक्रिय हुन थालेका हुन्।

उक्त क्षेत्रमा विगतदेखि सञ्चालनमा रहेका अधिकांश टहरा चिया पसल तथा साना रेष्टुरेन्टका रूपमा प्रयोग हुँदै आएका थिए भने केही भवनमा विभिन्न संघसंस्थाका कार्यालयसमेत रहेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय