बीरगन्ज,१३ वैशाख । बारा जिल्लाको सदरमुकाम कलैयामा सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्न ल्याइएको बसपार्क केन्द्रित सञ्चालन योजना कार्यान्वयन हुन नसक्दा प्रभावहीन बनेको छ। उपमहानगरपालिकाले वैशाख ११ गतेदेखि सबै सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा बसपार्कबाटै सञ्चालन गर्नुपर्ने निर्णय गरे पनि दुई दिन बितिसक्दा पनि व्यवहारमा कुनै परिवर्तन देखिएको छैन।
निर्णयअनुसार भरत चोक आसपासबाट सञ्चालन हुँदै आएका बस, मिनीबस, म्याजिक, टेम्पो, ई–भी माइक्रो र टाटा सुमो लगायतका सवारीसाधनलाई कलैया–४ स्थित बसपार्कमा सार्ने भनिएको थियो। तर, हालसम्म ती सवारीहरू मुख्य सडक र चोकमै जथाभाबी पार्किङ गर्दै यात्रु चढाउने–ओराल्ने काम गरिरहेका छन्। विशेषगरी भरत चोक क्षेत्रमा ट्राफिक जाम र अव्यवस्था यथावत् रहेको देखिन्छ।
यस विषयमा ट्राफिक प्रहरीका अनुसार केही प्राविधिक तथा मौसमसम्बन्धी कारणले कार्यान्वयनमा ढिलाइ भएको हो। वर्षा रोकिएपछि आजैबाट कडाइका साथ नियम लागू गरिने तयारी रहेको जनाइएको छ।
लामो समयदेखि बजार क्षेत्रमा हुने सवारी चाप घटाउने र आवागमन सहज बनाउने उद्देश्यले ल्याइएको यो योजना प्रभावकारी अनुगमन अभावका कारण कार्यान्वयनमा कमजोर देखिएको छ। सम्बन्धित निकायबीच समन्वय र कडाइ नभएसम्म यस्तो निर्णय कागजमै सीमित रहने सम्भावना रहेको छ।

