काठमाडौं,१३ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूलाई विदेश यात्रा गर्न रोक लगाइएको छ। आर्थिक अनियमिततासम्बन्धी छानबिन प्रक्रिया अघि बढेसँगै यो निर्णय गरिएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फाको आर्थिक गतिविधि सम्बन्धी छानबिनका लागि कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ। सोही छानबिनका आधारमा पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयमार्फत निर्देशन पठाइएको हो।
मन्त्रालय स्रोतका अनुसार एन्फाका पदाधिकारीहरू हाल निलम्बनको अवस्थामा रहेकाले अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले यात्रा प्रतिबन्ध लगाइएको हो। सोही अनुसार गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्राचार भएपछि उनीहरूको पासपोर्ट समेत रोक्का गरिएको छ।
राखेप सदस्य सचिव रामचरित्र मेहताका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा छानबिन समिति गठन गरिएको हो। समितिले एन्फाको वित्तीय गतिविधि र व्यवस्थापन सम्बन्धी विषयमा अध्ययन गरिरहेको छ।
यसअघि ‘अर्ली इलेक्सन’ विवादका कारण राखेपले एन्फालाई चैत ११ गते तीन महिनाका लागि निलम्बन गरेको थियो। त्यसयता संस्थाभित्रको प्रशासनिक गतिविधि र आर्थिक पारदर्शितामाथि थप प्रश्न उठ्दै आएका छन्।

