काठमाडौं,१३ वैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेताको निर्वाचनमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्।
उनले दलको नेताको चयन सहमतिमार्फत हुनुपर्ने धारणा राख्दै त्यसका लागि वरिष्ठता र अनुभवलाई आधार बनाउनुपर्ने बताए। “म संसदीय दलको नेतामा निर्वाचन लड्दिन, यो कुरा म सांसद बनेपछि नै निरन्तर भन्दै आएको छु,” उनले सञ्चारमाध्यमसँग बताएका छन्।
केसीले आफ्नो कारणले नेतृत्व चयनमा ढिलाइ भएको भन्ने आरोप अस्वीकार गर्दै सुरुदेखि नै आफूले चुनाव नलड्ने जानकारी नेतृत्वलाई दिँदै आएको दाबी गरे।
साथै, उनले सहमतिका आधारमा नेता चयन गर्दा स्पष्ट मापदण्ड तय गर्नुपर्नेमा जोड दिएका छन्। कर्णाली प्रदेशबाट निर्वाचित सांसद वासना थापालाई दलको नेता बनाउने प्रस्ताव आए आफू प्रस्तावक बस्न तयार रहेको समेत उनले बताएका छन्।
कांग्रेसभित्र संसदीय दलको नेता चयनबारे छलफल जारी रहँदा केसीको यो अभिव्यक्तिले सहमतिमै नेतृत्व चयन गर्ने बहसलाई थप बल दिएको छ।

