बीरगन्ज, १३ वैशाख । बीरगन्ज महानगरपालिकाले मेनरोड (त्रिभुवन राजपथ) विस्तार कार्यमा अवरोध गर्ने र मेयरविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने व्यक्तिहरूलाई कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनअन्तर्गत सडक विभागले राष्ट्रिय मापदण्डअनुसार सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र पर्ने करिब १,२०० घर तथा पसल हटाउने काम सुरु गरेको छ। यसक्रममा डोजर प्रयोग गरी संरचना हटाउने कार्य जारी छ।
तर, प्रभावित जग्गाधनी र व्यापारीहरूले यसविरुद्ध प्रदर्शन गर्दै सडक विस्तारमा अवरोध सिर्जना गर्दै आएका छन्। प्रदर्शनका क्रममा मेयर राजेशमान सिंहविरुद्ध लक्षित आलोचना र आपत्तिजनक अभिव्यक्ति दिइएको महानगरको भनाइ छ।
मेयरका स्वकीय सचिव सत्याराज घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा अदालतको फैसला कार्यान्वयनमा बाधा पुर्याउने तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधि गर्नेलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।
विज्ञप्तिमा विशेषगरी प्रदर्शनका क्रममा केही व्यक्तिबाट आएका अभिव्यक्तिहरूलाई भ्रामक, तथ्यहीन र साम्प्रदायिक भावना भड्काउने किसिमको भन्दै आपत्ति जनाइएको छ। महानगरले यस्ता अभिव्यक्तिले सामाजिक एकता र सहिष्णुतामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।
महानगरका अनुसार सडक विस्तार संघीय सरकारअन्तर्गतको योजना भए पनि सुरुदेखि नै स्थानीय नेतृत्व यसको पक्षमा रहेको छ। साथै, ऐतिहासिक व्यक्तित्व शंखधर साख्वाको नाममा गरिएको पार्क नामाकरणलाई लिएर गरिएको आलोचना पनि अनुचित र आपत्तिजनक रहेको उल्लेख गरिएको छ।
महानगरले सबै पक्षलाई संयमता अपनाउन, तथ्यमा आधारित अभिव्यक्ति दिन र कानुनी शासन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

