बीरगन्ज,१३ वैशाख । पर्सामा अवैध रूपमा ओसारपसार हुँदै गरेको सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ।
बीरगन्ज महानगरपालिका–३१ मिलन चोक क्षेत्रमा आइतबार बिहान संयुक्त गस्तीका क्रममा उक्त ट्याक्टर बरामद गरिएको हो। कारबाहीमा सबैया सब डिभिजन वन कार्यालय र स्थानीय साझेदारी वन उपभोक्ता समूहको टोली संलग्न थियो।
प्रहरी तथा वनकर्मीको टोलीले प्रदेश २–०३–००१ त १५७५ नम्बरको ट्याक्टरमा अवैध रूपमा ल्याइँदै गरेको सालको काठ फेला पारेपछि नियन्त्रणमा लिएको हो। यससँगै कृष्ण प्रसाद साहलाई पनि पक्राउ गरिएको छ, जो वीरगञ्ज–२९ मुसौलीका बासिन्दा हुन्।
बरामद गरिएको करिब २४ फिट साल काठ र ट्याक्टरको मूल्य करिब १५ लाख रुपैयाँ आँकलन गरिएको छ। आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सामान र व्यक्तिलाई डिभिजन वन कार्यालय पर्सामा पठाइएको रेन्जर भुपाल रोकायले जानकारी दिएका छन्।
वन कार्यालयले अवैध काठ तस्करी नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई थप कडा बनाइने जनाएको छ।

