रौतहट,१३ वैशाख । आफ्नै विवाहको निम्तो बाँड्न नेपाल आएका एक भारतीय युवकको सडक दुर्घटनामा ज्यान गएको छ।
भारतको बिहार राज्य, सीतामढी जिल्लास्थित बैरगनिया निवासी २० वर्षीय विशाल महतोको शनिबार राति करिब ११ बजे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
परिवारका अनुसार उनी वैशाख २५ गते हुने आफ्नै विवाहको निम्तो दिन गरुडा नगरपालिका–१ जयनगरस्थित आफन्तको घरतर्फ मोटरसाइकलमा जाँदै थिए। सो क्रममा गौर–चपुर सडकखण्डअन्तर्गत निर्माणाधीन कल्भर्टमा खसेर दुर्घटना भएको हो।
घटना गौर नगरपालिका–६ सबगढा नजिकै रहेको निर्माणाधीन सडक खण्डमा भएको जनाइएको छ। स्थानीयवासीले निर्माण कम्पनीको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार निर्माणस्थलमा कुनै चेतावनी बोर्ड, संकेत चिन्ह, बत्ती वा सुरक्षा घेरा नराखिँदा जोखिम बढेको थियो।
उक्त सडक गौर–चन्द्रनिगाहपुर खण्डको स्तरोन्नति तथा चार लेन विस्तार योजनाअन्तर्गत निर्माणाधीन छ। तर, आवश्यक सुरक्षा मापदण्ड र ट्राफिक व्यवस्थापन प्रभावकारी रूपमा लागू नभएको स्थानीयको गुनासो छ।
यता, बिष्णु प्रदिप बस्यालले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले निर्माणस्थलमा सुरक्षा मापदण्ड पालनाको आवश्यकता पुनः उजागर गरेको छ।

