काठमाडौं,१३ वैशाख । नयाँ वर्ष २०८३ सुरु भएको पहिलो १३ दिनमै देशभर विपद्का घटनामा उल्लेख्य वृद्धि देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १३ गतेसम्म ४४५ वटा विपद्का घटना हुँदा २३ जनाको मृत्यु र ८५ जना घाइते भएका छन्।
प्राधिकरणका तथ्यांक अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन्। यस अवधिमा मात्रै २२२ आगलागी हुँदा ७ जनाको मृत्यु, २४ जना घाइते र २६२ परिवार प्रभावित भएका छन्। सुख्खा मौसम, बढ्दो गर्मी र मानवीय लापरबाहीका कारण आगलागी प्रमुख जोखिम बनेको बताइएको छ।
वन डढेलोका ११५ घटना रेकर्ड भएका छन्, जसमा १ जनाको मृत्यु, १ जना घाइते र १७ परिवार प्रभावित भएका छन्। डढेलोले वातावरणीय क्षति बढाउनुका साथै जनजीवनमा समेत असर पुर्याइरहेको छ।
त्यसैगरी हावाहुरीका घटनाबाट ९४ परिवार प्रभावित भएका छन्। विशेषगरी तराई–मधेश र केही पहाडी जिल्लामा घर, बाली र भौतिक संरचनामा क्षति पुगेको छ।
चट्याङका २२ घटनामा ४ जनाको मृत्यु र १६ जना घाइते भएका छन् भने सर्पदंशका २३ घटनामा १ जनाको मृत्यु र २२ जना घाइते भएका छन्। त्यस्तै, जंगली जनावरको आक्रमणका १६ घटनामा १ जनाको मृत्यु र १३ जना घाइते भएका छन्।
अन्य घटनातर्फ लेक लागेर २ जनाको मृत्यु, डुङ्गा दुर्घटनामा २ जनाको ज्यान गएको तथा पहिरोका ४ घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार प्रि–मनसुन सक्रिय भएसँगै भारी वर्षा, बाढी र डुबानका प्रारम्भिक संकेत पनि देखिन थालेका छन्, यद्यपि अहिलेसम्म ती घटनाबाट मानवीय क्षति भने भएको छैन।
प्राधिकरणले सर्वसाधारणलाई आगलागी, चट्याङ, हावाहुरी र सर्पदंशबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेको छ। घर तथा वन क्षेत्रमा आगो प्रयोग गर्दा सतर्क रहन, चट्याङ पर्दा खुला ठाउँबाट टाढा बस्न र हावाहुरीको समयमा सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।

