काठमाडौँ,१५ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह को भारत भ्रमणको तयारी दुवै देशका कूटनीतिक तहमा तीव्र बनेको छ। नेपाल र भारत दुवैले औपचारिक प्रक्रिया अघि बढाउँदै भ्रमणको मिति टुंग्याउने तयारी गरिरहेका छन्।
भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउने भएका छन्। दुई दिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने तयारी गरिएको छ।
यसअघि नै प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा दिएका थिए। उक्त निमन्त्रणा बालेनले स्वीकार गरेको जानकारी परराष्ट्रमन्त्री शिशिर खनालले सार्वजनिक गरिसकेका छन्।
भ्रमणको तयारी अन्तर्गत विदेश सचिव मिस्रीले परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनीसँगको छलफलमा दुई देशबीचका सम्झौता कार्यान्वयनको प्रगति समीक्षा गरिने बताइएको छ।
मिस्रीको भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने र त्यसपछि मात्र प्रधानमन्त्री बालेनको भ्रमण मिति टुंगो लाग्ने कूटनीतिक स्रोतहरूले जनाएका छन्।
यसैबीच, भारत–नेपाल सम्बन्धमा संवेदनशील मानिने सीमा मुद्दा र ऐतिहासिक विवादहरू पनि पुनः चर्चामा आएका छन्। विशेष गरी लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापार सुरु गर्ने विषयले कूटनीतिक चासो बढाएको छ।
नेपालले यसअघि नै उक्त क्षेत्रमा भारत र चीनबीच भएको सहमतिप्रति कूटनीतिक आपत्ति जनाउँदै आफ्नो भूभाग भएको दाबी दोहोर्याएको थियो। यस्ता संवेदनशील विषयहरू प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणमा उठ्ने सम्भावनाले पनि चासो बढाएको छ।

