spot_img

१०० रुपैयाँको भन्सार नीति मधेशका भान्सामा राज्यको अवरोधः गगन थापा

spot_img
spot_img

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले सीमावर्ती क्षेत्रमा लागू गरिएको १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार तिर्नुपर्ने व्यवस्थाको कडा आलोचना गरेका छन्। उनले उक्त नीतिलाई अव्यवहारिक र जनजीवनमाथि अनावश्यक बोझ थप्ने कदम भएको बताएका छन्।

सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीको भ्रमणपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले यो व्यवस्थाले मधेशका सामान्य नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर पारेको बताएका हुन्। “यो नीतिले मधेशका हरेक भान्सामा अवरोध खडा गरेको छ,” उनले उल्लेख गरेका छन्।

उनका अनुसार सीमामा सानो सामान ल्याउने सर्वसाधारणलाई समेत रोक्ने र झन्झट दिने प्रवृत्तिले नागरिकको सम्मानमा आँच पुर्‍याएको छ। मजदुरहरूले सामान्य खाद्य सामग्री ल्याउँदा समेत घण्टौँ सास्ती भोग्नुपरेको उदाहरण उनले दिएका छन्।

थापाले उक्त व्यवस्था विगतदेखि नै कानुनमा भए पनि व्यवहारमा कडाइका साथ लागू नगरिएको स्मरण गराउँदै अहिलेको सरकारले त्यसलाई कठोर रूपमा कार्यान्वयन गरेर जनतालाई दुःख दिएको आरोप लगाए। उनले यसबाट उल्लेखनीय राजस्व नउठ्ने भए पनि नागरिकलाई अनावश्यक हैरानी दिने काम भइरहेको बताए।

सीमावर्ती क्षेत्रका नागरिकको संवेदनशीलता बुझ्न सरकारलाई आग्रह गर्दै थापाले यो निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। “सीमान्त क्षेत्रका नागरिकले देशको अर्थतन्त्र र सुरक्षामा योगदान दिएका छन्, उनीहरूलाई सहज आवतजावतको अधिकार सुनिश्चित गर्नुपर्छ,” उनले भने।

spot_img

ताजा अपडेट

लोकप्रिय