मकवानपुर,२३ वैशाख । पानीसहित आएको शक्तिशाली हावाहुरीका कारण मकवानपुरका विभिन्न गाउँपालिकामा व्यापक क्षति पुगेको छ। ग्रामीण भेगका बस्ती, घरगोठ र अन्नबालीमा असर परेपछि स्थानीयवासी प्रभावित बनेका छन्।
बागमती प्रदेश प्रहरी कार्यालय का अनुसार सोमबार आएको हावाहुरीबाट करिब २६ घरपरिवार प्रभावित भएका छन् भने कुल क्षति २२ लाख रुपैयाँभन्दा बढी पुगेको अनुमान गरिएको छ।
हावाहुरीका कारण इन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित सरस्वती बालबोधिनी माविको भवनमा समेत क्षति पुगेको छ। विद्यालय नजिकैको सल्लाको रुख ढल्दा जस्तापातामा समेत असर परेको प्रहरीले जनाएको छ।
सबैभन्दा बढी क्षति कैलाश, भीमफेदी, मकवानपुरगढी, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकाका बस्तीहरूमा देखिएको छ। धेरै घरका जस्तापाता उडाइएपछि स्थानीयहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्।
कैलाश गाउँपालिका–९ घैराङटारमा मात्रै दुई घरमा ठूलो क्षति भएको छ। त्यहाँ अन्नपात, काठपात र जस्तासहित हजारौं रुपैयाँ बराबरको सामान नष्ट भएको छ।
यस्तै, भीमफेदी क्षेत्रमा कुखुरा फर्म र घुम्ती पसलसमेत प्रभावित भएका छन्। केही स्थानमा कुखुरा मरेको र व्यवसायिक क्षति भएको प्रहरीले जनाएको छ।
हावाहुरीले राक्सिराङ गाउँपालिकाका विभिन्न टोलहरूमा पनि घरका छाना उडाएको छ भने इन्द्रसरोवर क्षेत्रका किसानहरूको मल र कृषि सामग्री नष्ट भएको छ।
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।


