यस वर्षको मनसुन कमजोर, वर्षा कम र गर्मी बढी हुने प्रक्षेपण

spot_img

काठमाडौं,२३ वैशाख । यस वर्ष नेपालमा मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ। मौसमविद्हरूका अनुसार प्रशान्त महासागरको ‘एल निनो’ प्रभाव र हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल (आईओडी)’ मा आएको परिवर्तनका कारण मनसुन कमजोर बन्ने सम्भावना देखिएको हो।

जल तथा मौसम विज्ञान विभाग का अनुसार मनसुन (जुनदेखि सेप्टेम्बरसम्म) देशको कुल वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा बोकेको हुन्छ। यस अवधिमा वर्षा कम हुँदा कृषि, जलविद्युत र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने गर्दछ।

हालै माल्दिभ्सको मालेमा सम्पन्न दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (SASCOF) को बैठकले पनि यस वर्ष दक्षिण एसियाको मध्य क्षेत्रमा वर्षा कम हुने र केही उत्तर–पूर्वी तथा दक्षिणी भागमा सामान्य वा बढी वर्षा हुन सक्ने अनुमान सार्वजनिक गरेको छ। नेपाल ठूलो भाग मध्य क्षेत्रमा पर्ने भएकाले समग्रमा वर्षा कम हुने संकेत देखिएको हो।

त्रिभुवन विश्वविद्यालयका मौसमविद् डा. विनोद पोखरेलका अनुसार यस वर्षको मनसुन सुरुवाती चरणमै कमजोर हुन सक्छ। उनका अनुसार जेठ मध्यदेखि साउन मध्यसम्म लामो सुक्खा अवधि देखिन सक्ने सम्भावना छ, जसले रोपाइँ प्रभावित गर्न सक्छ।

नेपालको कृषि ठूलो हदसम्म मनसुनी वर्षामा निर्भर छ। वर्षा कम हुँदा धान रोपाइँ घट्ने, उत्पादन कम हुने र खाद्य सुरक्षा चुनौती बढ्ने जोखिम देखिएको छ। त्यस्तै, नदी–आधारित जलविद्युत आयोजनामा पनि असर पर्ने सम्भावना छ।

साथै, यस वर्ष औसत तापक्रम पनि बढी हुने अनुमान गरिएको छ, जसले तराई र शहरी क्षेत्रमा गर्मीजन्य स्वास्थ्य समस्या बढाउन सक्ने चेतावनी दिइएको छ।

तर विभागले भने अहिले नै ठ्याक्कै निष्कर्ष निकाल्न नसकिने बताएको छ। मनसुनका मोडेलहरू नियमित अद्यावधिक हुने भएकाले अवस्था परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको विज्ञहरूको भनाइ छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय