जनकपुर,२३ वैशाख । जनमत पार्टी ले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको बहस तीव्र बनेको छ। अहिलेको अवस्थामा सरकार निर्माणको अग्रसरतामा जनता समाजवादी पार्टी नेपाल देखिएको छ भने नेकपा एमाले को भूमिका निर्णायक बन्ने संकेत छ।
जसपा नेपालले एमालेसँग सहकार्य गरेर नयाँ सरकार बनाउने सम्भावना खोजिरहेको छ। पार्टीका शीर्ष नेताहरू यतिबेला काठमाडौंमा आन्तरिक छलफलमा व्यस्त छन्। जसपा नेपालभित्रै भने सरकारमा जाने–नजाने विषयमा मतभेद देखिएको छ—कतिपय नेता एमालेसँग मिल्नुपर्ने पक्षमा छन् भने केही भने चुनाव नजिकिँदै गर्दा सरकारभन्दा बाहिर बसेर तयारी गर्नुपर्ने तर्क गरिरहेका छन्।
मुख्यमन्त्रीको दौडमा को–को ?
जसपा नेपालबाट पूर्वमुख्यमन्त्रीहरू जितेन्द्र सोनल, सरोज यादव र लालबाबु राउत मुख्यमन्त्रीका मुख्य दाबेदारका रूपमा अगाडि आएका छन्। अन्तिम निर्णय भने पार्टी अध्यक्ष उपेन्द्र यादव सँगको छलफलपछि मात्रै हुने देखिएको छ।
एमालेको ‘वेट एन्ड वाच’ रणनीति
एमालेले भने अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने स्पष्ट निर्णय गरिसकेको छैन। पार्टीले दुवै पक्ष—जसपा नेपाल र नेपाली कांग्रेस —बाट प्रस्ताव आएको स्वीकार गरे पनि तत्काल कुनै पक्षमा उभिने संकेत दिएको छैन। एमाले नेताहरूका अनुसार अब बन्ने कुनै पनि सरकारलाई समर्थन गर्दा लिखित सहमति र कार्ययोजना अनिवार्य गरिनेछ।
दलहरूबीच अझै अन्योल
जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच एकता घोषणा भए पनि प्रदेशस्तरमा अझै पूर्ण रूपमा कार्यान्वयन भएको छैन। यही कारण सरकार निर्माणको समीकरण अझै पेचिलो बनेको छ।
यता जनमत पार्टीभित्रै देखिएको विवादले पनि सरकारलाई अस्थिर बनाएको छ। समर्थन फिर्ता लिइसके पनि उसका केही मन्त्री अझै सरकारमै रहनुले राजनीतिक समीकरण झन् जटिल बनेको छ।
शक्ति सन्तुलन कता ?
मधेस प्रदेशसभामा एमाले (२४), कांग्रेस (२२), जसपा नेपाल (१८), लोसपा (८), माओवादी र एकीकृत समाजवादी (१५), जनमत (१२) लगायत दलहरूको उपस्थिति रहेको छ। यस्तो अवस्थामा स्पष्ट बहुमतका लागि गठबन्धन अपरिहार्य छ।


