बीरगन्जमा सडक सुरक्षा र बालविवाहविरुद्ध व्यापक सचेतना कार्यक्रम सम्पन्न

spot_img

बीरगन्ज,२३ वैशाख । पर्सामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक सुरक्षा तथा बालविवाहविरुद्ध विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा बीरगन्ज महानगरपालिका–१४ स्थित मदरसा तौहिदुल सल्फिया माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा करिब ९५० जना विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोच र सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक रामचन्द्र पौडेलले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना अनिवार्य रहेको बताए। उनले सानो लापरवाहीले समेत ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

त्यसैगरी महिला सेलकी प्रहरी निरीक्षक सुनिता शर्माले बालविवाहका सामाजिक र कानुनी असरबारे जानकारी दिँदै यसविरुद्ध सामूहिक सचेतना आवश्यक रहेको बताइन्। उनले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने उल्लेख गरिन्।

कार्यक्रममा ट्राफिक नियम, सुरक्षित रूपमा सडक पार गर्ने तरिका, हेल्मेट तथा सिटबेल्टको महत्व र बालविवाहसम्बन्धी कानुनी प्रावधानबारे जानकारीमूलक प्रस्तुति समेत गरिएको थियो। विद्यार्थीहरूले जिज्ञासा राख्दै अन्तरक्रियात्मक रूपमा कार्यक्रममा सहभागिता जनाएका थिए।

स्टार युथ क्लब, फुरकान एकेडेमी लगायत विभिन्न सामाजिक तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले समाजमा रहेका विकृति हटाउन समुदाय र प्रहरीबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

आयोजकले यस्ता सचेतनामूलक अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै विद्यालय र समुदायसँग सहकार्य बढाइने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय