चितवन,२३ वैशाख । चितवन राष्ट्रिय निकुञ्जभित्र चालु आर्थिक वर्षमा ६ वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। सोमबार सिजीघाट नजिकै करिब दुई वर्ष उमेरको भाले बाघ मृत भेटिएसँगै यो संख्या ६ पुगेको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार उक्त बाघको मृत्यु अन्य बाघसँगको झडपका कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एकको पहिचान हुन सकेको छैन। तीमध्ये दुई वटा बाघ आपसमा जुधेर मरेका हुन् भने तीन वटा उद्धार प्रक्रियामा रहँदा मरेका थिए। एक बाघको भने प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जले जनाएको छ।
निकुञ्ज प्रशासनका अनुसार यसअघि गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। हाल नयाँ गणनाको नतिजा भने आउन बाँकी छ।
पाटेबाघको लगातार मृत्युले संरक्षण तथा व्यवस्थापनमा थप चुनौती देखिएको सरोकारवालाहरूले बताएका छन्।


