बीरगन्ज,२३ वैशाख । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा सञ्चालन गरिएको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” लाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले पर्सामा जिल्ला स्तरीय अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीप राज पाठक, सशस्त्र प्रहरी बलका एसपी मोहनबहादुर क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल लगायतको उपस्थिति रहेको थियो।
अन्तरक्रियामा अभियानको प्रारम्भिक तयारी, कार्यान्वयन रणनीति तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले लागुऔषध सेवनकर्ताको पहिचान, उपचार, पुनःस्थापना तथा जनचेतना अभिवृद्धिमा सबै निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा सहभागीहरूले लागुऔषध समस्यालाई नियन्त्रण गर्न सुरक्षा कारबाही मात्र पर्याप्त नहुने भन्दै सुधार, पुनःस्थापना र सामाजिक सचेतनालाई पनि समान प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
आयोजक पक्षले अभियानलाई जिल्लास्तरमा प्रभावकारी ढंगले सञ्चालन गर्न स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई अझ मजबुत बनाइने जनाएको छ।


