नागरिकलाई त्रसित बनाउने कार्यले सरकारलाई नै असफल बनाउँछ : घनश्याम भूसाल

spot_img

काठमाडौं,२३ वैशाख । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले सरकारलाई लोकतान्त्रिक मूल्य–मान्यता र जनअपेक्षाप्रति संवेदनशील हुन आग्रह गरेका छन्। माइतीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नागरिकलाई डर र त्रासमा राख्ने शैलीले अन्ततः सरकार स्वयं असफल हुने चेतावनी दिए।

भूसालले सरकारको बहुमत र सामर्थ्यको सम्मान गर्दै जनहितमुखी नीतिमा ध्यान दिनुपर्ने बताए। उनले सरकारका हालका निर्णय र कार्यशैलीलाई सात बुँदामा समेट्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।

उनका अनुसार नेपालमा स्थिरता र सुशासन मुख्य आवश्यकता भए पनि विगतका अस्थिरता र निरंकुशताका अनुभव दोहोरिन नदिन वर्तमान सरकार सचेत हुनुपर्छ। “जनताले लोकतान्त्रिक स्थिरता र समृद्धि चाहेका छन्, तर विगतका सरकारको असफलता दोहोरिने अवस्था आउनु हुँदैन,” उनले भने।

सरकारले सुकुम्वासीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाउँदै भूसालले विकल्पविहीन अवस्थामा घरटहरा भत्काउने काम गलत भएको टिप्पणी गरे। उनले भत्काइएका संरचनाको क्षतिपूर्ति, विस्थापित नागरिकको व्यवस्थापन तथा बालबालिका र वृद्धवृद्धाको उपचार सुनिश्चित गर्न सरकारसँग माग गरे।

विद्यार्थी संगठन र ट्रेड युनियनमाथि लगाइएका प्रतिबन्धलाई उनले अलोकतान्त्रिक कदमको संज्ञा दिए। “संघर्ष गरेर प्राप्त अधिकार मेट्न खोज्नु स्वीकार्य हुँदैन,” उनले स्पष्ट पारे।

त्यसैगरी संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिलाई उनले ‘चोर बाटो’ भन्दै आलोचना गरे। पर्याप्त संसदीय बहुमत हुँदाहुँदै अध्यादेशको सहारा लिनु सरकारको गरिमा घटाउने उनको तर्क थियो।

छिमेकी भारतबाट आउने सामानमा कडा भन्सार नीतिले सर्वसाधारण र वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई समस्या परेको उल्लेख गर्दै उनले तस्करी नियन्त्रणका नाममा जनतालाई सास्ती नदिन आग्रह गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय