विवाहेत्तर सम्बन्ध लुकाउन प्रेमिकाको हत्या

spot_img

काठमाडौं,२३ वैशाख । तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारीको हत्या प्रकरणमा प्रहरीले स्तब्ध पार्ने तथ्य सार्वजनिक गरेको छ। वैशाख १२ गतेदेखि बेपत्ता भएकी तिवारीको शव मंगलबार टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला परेको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा टोखा–२ निवासी अनिल डङ्गोललाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार विवाहेत्तर सम्बन्ध सार्वजनिक भएपछि उत्पन्न विवादकै कारण हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।

प्रहरीका अनुसार मृतकका पति शंकर तिवारी र आरोपी अनिलबीच लामो समयदेखि घनिष्ठ मित्रता थियो। सोही क्रममा अनिल र सरिताबीच नजिकको सम्बन्ध विकास भएको र पछिल्लो करिब एक वर्षदेखि उनीहरूबीच प्रेम सम्बन्ध रहेको खुलेको छ।

परिवार र समाजमा सम्बन्धबारे चर्चा हुन थालेपछि सरिताले अनिललाई जिम्मेवारी लिन दबाब दिन थालेकी थिइन्। प्रहरीको भनाइअनुसार सामाजिक दबाब र विवाद बढ्न थालेपछि अनिलले हत्या योजना बनाएका थिए।

वैशाख ११ गते घरबाट बजार जान्छु भनेर निस्किएकी सरितालाई अनिलले शिवपुरी जंगलमा लगेर हत्या गरी शव गाडेको बयान दिएका छन्।

घटनापछि अनिलले आफूलाई केही जानकारी नभएको भन्दै परिवारलाई ढाडस दिँदै आएका थिए। तर स्थानीय जनप्रतिनिधिको सूचनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। त्यसक्रममा पक्राउ परेका अनिलले शव गाडिएको स्थान देखाएपछि प्रहरीले उत्खनन गरेर शव फेला पारेको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय