बीरगन्ज,२७ वैशाख । लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी अभियान अन्तर्गत पर्सामा प्रहरीले दुई दिनको अवधिमा एक युवतीसहित ८ जनालाई पक्राउ गरेको छ।
शुक्रबार र शनिबार बीरगन्ज नाकामा गरिएको चेकजाँचका क्रममा खैरो हेरोइन तथा प्रतिबन्धित औषधिसहित उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार शुक्रबार बीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट ६०० मिलिग्राम खैरो हेरोइनसहित २७ वर्षीय विकास साह र २३ वर्षीय कबिन पराजुली पक्राउ परेका थिए। सोही दिन ५ ग्राम खैरो हेरोइन र सेतो हेरोइनसहित २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बा पनि पक्राउ परे।
त्यसैगरी शनिबार सोही स्थानबाट थप ४ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २९ वर्षीय अन्जन थापा, १९ वर्षीय रमेश बम्जन, ३७ वर्षीय राजु बानिया र ५२ वर्षीय अलिहसन मियाँ रहेका छन्। उनीहरूबाट ३ ग्राम ३७ मिलिग्राम खैरो हेरोइन र ५३ थान प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने यात्रु तथा सवारी साधनमा गरिएको नियमित चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




