काठमाडौं,२९ वैशाख । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशभर सेवा अवरुद्ध भएको जनाएको छ।
विभागका अनुसार वैशाख २१ गतेदेखि प्रणालीमा समस्या देखिएपछि नयाँ दर्ता (इनरोलमेन्ट) गर्दा जारी हुने राष्ट्रिय परिचय नम्बर प्रमाणीकरण हुन नसकेको हो।
विभागले मंगलबार सूचना जारी गर्दै हाल प्रणालीको मर्मत कार्य जारी रहेको र समस्या समाधान नभएसम्म सेवा सुचारु गर्न नसकिने स्पष्ट पारेको छ। यसअघि पनि वैशाख २३ गते नै मर्मत भइरहेको जानकारी दिइएको थियो।
सेवा अवरुद्ध भएपछि देशभरका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, परिचयपत्र इकाइ तथा अन्य सेवा केन्द्रहरू प्रभावित भएका छन्। विभागले सबै कार्यालयलाई औपचारिक रूपमा सेवा रोकिएको जानकारी गराइसकेको छ।
विभागले मर्मत कार्य सम्पन्न भएपछि मात्र सेवा पुनः सञ्चालन हुने र त्यसबारे अलग सूचना जारी गरिने जनाएको छ।



