महानगरको सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियानअन्तर्गत पार्कलाई आकर्षक, व्यवस्थित र पारिवारिक मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना अघि बढाइएको हो। संयोजक जयप्रकाश खेतानका अनुसार पार्कमा हरियाली विस्तार, पदमार्ग निर्माण, विश्रामस्थल तथा बालबालिकाका लागि खेल क्षेत्र निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
पार्कलाई स्वास्थ्य, मनोरञ्जन र सामाजिक भेटघाटको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। यससँगै पार्क क्षेत्रमा स्थायी प्रहरी बिट पनि स्थापना गरिएको छ, जसले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको स्थानीयवासीले बताएका छन्।
प्रहरी बिट सञ्चालनपछि पार्कभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण, सुरक्षामा सहजता तथा संरचनाको संरक्षणमा सहयोग पुगेको छ।
संयोजक खेतानले वीरगञ्जको विकासमा नागरिक सहभागिता अपरिहार्य रहेको बताउँदै भने, “हरियाली र सरसफाइ केवल सौन्दर्य होइन, स्वस्थ र सभ्य शहरको आधार हो।”
स्थानीयवासीले विपी उद्यान पार्क निर्माणले वीरगञ्जको स्वरूपमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। पार्क पूर्ण रूपमा तयार भएपछि आन्तरिक पर्यटन प्रवर्द्धन र शहरी जीवनशैलीमा सुधार आउने अपेक्षा गरिएको छ।