बीरगन्ज,३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा बारा जिल्लाको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी र उपाध्यक्ष निलम साह प्रतिनिधिका रूपमा सहभागी हुने भएका छन् ।
असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यविधि २०८३ अनुमोदन गरेको थियो । सोही कार्यविधिअनुसार पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख स्वतः महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
फेटा गाउँपालिकाका अध्यक्ष अन्सारी र उपाध्यक्ष साह २०७९ सालको स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट निर्वाचित भएका थिए । पछि विवेकशील साझाले रास्वपासँग पार्टी एकता गरेपछि उनीहरू रास्वपाको संरचनामा आबद्ध भएका हुन् ।
रास्वपाका नेता प्रकाशचन्द्र परियारका अनुसार हालसम्म रास्वपाबाट प्रतिनिधित्व गर्ने स्थानीय तह फेटा गाउँपालिका मात्रै भएकाले अध्यक्ष र उपाध्यक्ष दुवै स्वतः महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
रास्वपाको विधान २०७९ (संशोधन २०८१) को धारा २३(त) मा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचन हुँदा रास्वपा गठन भइसकेको थिएन । पार्टीको स्थापना भने सोही वर्ष असार ७ गते भएको थियो ।



