spot_img

मधेस सरकार जोगाउन सक्रिय जसपा, जनमतलाई राजनीतिक झट्का

spot_img
spot_img

बीरगन्ज,३० वैशाख । मधेस प्रदेशको राजनीतिक समीकरण फेरि एकपटक पेचिलो बनेको छ । सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टी अहिले अनिश्चित अवस्थामा पुगेको बेला जनता समाजवादी पार्टी (जसपा) नेपाल भने सत्ता गठबन्धन जोगाउने रणनीतिमा देखिएको छ ।

जसपा नेपाल संसदीय दलको बैठकले तत्काल गठबन्धन नफोड्ने निष्कर्ष निकालेपछि मधेस सरकार जोगिने संकेत बलियो बनेको छ । अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणको समय भएकाले नयाँ सत्ता समीकरण बनाउनुभन्दा वर्तमान गठबन्धनलाई नै निरन्तरता दिन उपयुक्त हुने धारणा पार्टीभित्र बनेको नेताहरू बताउँछन् ।

हाल मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसका कृष्ण यादवले गरिरहेका छन् । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने तयारी गरेका छन् । तर जसपा नेपाल सरकारसँगै रहने संकेत दिएपछि यादवलाई विश्वासको मत जुटाउन सहज हुने देखिएको छ ।

यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धनभित्र अझै छलफल जारी छ । प्रदेशमा सबैभन्दा ठूलो दल बनेपछि जसपा नेपालले मुख्यमन्त्रीमा दाबी गर्न सक्ने सम्भावना पनि खुला छ । पार्टी एकता प्रक्रिया निर्वाचन आयोगबाट टुंगिएसँगै जसपा नेपालको राजनीतिक हैसियत थप बलियो बनेको हो ।

यसैबीच जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका छन् भने पार्टीका संरक्षक महन्थ ठाकुर पनि त्यहाँ पुग्ने तयारीमा छन् । गठबन्धनभित्र सहमति खोज्न शीर्ष नेताहरू सक्रिय बनेका हुन् ।

जसपा नेपालका नेता डा. सुरेन्द्र झाले मधेस सरकारबारे पार्टीभित्र गम्भीर छलफल भइरहेको बताएका छन् । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीले निर्णय प्रक्रिया जारी राखेको उनको भनाइ छ ।

उता जनमत पार्टी भने जसपा नेपालप्रति असन्तुष्ट देखिएको छ । पार्टीका नेताहरूले सरकारविरुद्ध सँगै उभिने सहमति भए पनि जसपा नेपाल पछि हटेको आरोप लगाएका छन् । जनमत पार्टीका एक पदाधिकारीका अनुसार जसपाकै सुझावमा समर्थन फिर्ता लिइएको थियो, तर अहिले जसपा नेपाल सरकारमै टिक्ने संकेत दिएपछि आफूहरू अप्ठ्यारोमा परेको महसुस गरिएको छ ।

जनमत पार्टीले समर्थन फिर्ता लिए पनि उसका दुई मन्त्री अझै सरकारमै छन् । जसपा नेपालले समर्थन कायम राखेकाले सरकार तत्काल अल्पमतमा पर्ने अवस्था भने बनेको छैन । यही कारण अहिले जनमत पार्टी ‘न सरकारमा, न प्रतिपक्षमा’ जस्तो अवस्थाबाट गुज्रिरहेको राजनीतिक वृत्तमा चर्चा छ ।

स्रोतका अनुसार वर्तमान गठबन्धन जोगाउने विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता गगन थापा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो । त्यसपछि मधेसको राजनीतिक समीकरण अचानक बदलिएको बताइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय