काठमाडौँ,३० वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र नेतृत्व परिवर्तनका नाममा विधि र विधान उल्लंघन गर्न नहुने बताएका छन्। उनले नेतृत्वमा आउन हतारो भए पनि त्यसको नाममा संगठनात्मक प्रक्रिया कमजोर पार्न नहुने स्पष्ट पारे।
बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै पार्टी कब्जा गर्ने उद्देश्यसहित विधि विपरीत गतिविधि भइरहेको आरोप समेत लगाए।
नेता सिंहले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यहाँ विचार र मुद्दामाथि बहस हुनु स्वाभाविक भए पनि पार्टीको विधान र नियम मिचेर कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी दिए।
उनले भने, नेतृत्व परिवर्तन वा महाधिवेशनको प्रक्रिया विधानअनुसार मात्र हुनुपर्छ, नत्र पार्टी कमजोर हुने जोखिम रहन्छ। सिंहले पार्टीका प्रतिनिधिहरूको फर्जी हस्ताक्षर प्रयोग गरेर संगठन कब्जा गर्ने प्रयास भएको दाबी गर्दै यस्तो कार्यले पार्टीको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठ्ने बताए।
उनले सबै नेताहरूलाई एकताबद्ध भएर विधिसम्मत रूपमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै निषेधको राजनीति नभई समावेशी र संस्थागत प्रक्रियाबाट अघि बढ्न आग्रह गरे।



