काठमाडौँ,३१ वैशाख । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बितेका २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ३६५ सवारीचालकमाथि कारबाही गरेको जनाएको छ। उक्त कारबाहीबाट राज्यकोषमा रु २१ लाख ७७ हजार ५०४ राजस्व सङ्कलन भएको छ।
कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ८८ जना चालक कारबाहीमा परेका छन् भने नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २५८ जनामाथि पनि कारबाही गरिएको छ। त्यस्तै, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १५६ र तीव्र गतिमा सवारी चलाउने १७४ चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ।
यसैबीच, लेन अनुशासन पालना नगर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा सवारी पार्किङ गर्ने १२४ तथा एकतर्फी सडकमा सवारी चलाउने १६३ जनालाई समेत कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार १२१ चालकलाई पनि जरिवाना गरिएको जानकारी दिएको छ। कार्यालयले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित अनुगमन र कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।



