काठमाडौं,१२ जेठ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उक्त प्रस्ताव सदनमा पेश गरेका हुन्।
विधेयकमाथिको छलफलमा सांसदहरूले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन कानुनी सुधार अपरिहार्य रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले नेपालको संविधानले पर्यटनलाई अर्थतन्त्रको महत्वपूर्ण आधार मानेको उल्लेख गर्दै पर्याप्त सम्भावना हुँदाहुँदै पनि क्षेत्र व्यवस्थित हुन नसकेको बताए।
उनका अनुसार हिमाल, पहाड र तराईको जैविक विविधता, संस्कृति र सम्पदालाई अझ प्रभावकारी रूपमा उपयोग गर्न आवश्यक छ।
यसैबीच, सांसद सुशिल खड्काले पर्यटन विधेयकलाई समर्थन जनाउँदै हिमाल आरोहणसँगै बढ्दो फोहोर व्यवस्थापनमा गम्भीर ध्यान दिनुपर्ने बताए।
उनले सगरमाथालगायत हिमाली क्षेत्रमा अत्यधिक पर्यटक आगमनले फोहोरको समस्या बढाएको उल्लेख गर्दै दीर्घकालीन व्यवस्थापन रणनीति आवश्यक रहेको धारणा राखे।
उनले हिमालमा थुप्रिएको फोहोर र उद्धार खर्चबारे तथ्य प्रस्तुत गर्दै संवेदनशील क्षेत्र संरक्षणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए।
त्यसैगरी सांसद जगदीश खरेलले संसद अवरोधप्रति प्रश्न उठाउँदै कानुन निर्माण प्रक्रियालाई राजनीतिक विवादका कारण रोक्न नहुने बताए।
उनले लामो समयदेखि रोकिएको पर्यटनसम्बन्धी ऐन अब ढिलाइ नगरी अघि बढाउनुपर्ने धारणा राखे। सांसदहरूको छलफलपछि पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन कानुनी सुधार आवश्यक रहेको निष्कर्षसहित विधेयकलाई अगाडि बढाउने प्रक्रिया अघि बढाइएको छ।



