काठमाडौँ,१२ जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने विषयलाई लिएर पार्टीभित्र हलचल मच्चिएको छ । लामिछाने जेठ १८ गते नयाँदिल्ली प्रस्थान गर्ने सूचना बाहिरिएपछि रास्वपामा हलचल मच्चिएको हो ।
स्रोतका अनुसार सभापति लामिछाने भारत भ्रमणमा जानेबारे पार्टीलाई नै जानकारी छैन । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग पनि यसबारे छलफल नभएको बुझिएको छ ।
‘पार्टी सभापति भारत भ्रमणमा जानेबारे पार्टीलाई कुनै जानकारी छैन । वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेनसँग पनि छलफल भएको देखिँदैन । भ्रमणको विषयमा केन्द्रीय समितिले नै निर्णय गर्नुपर्छ’, स्रोतले भन्यो ।
लामिछाने भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा दुई दिने भ्रमणमा निस्किन लागेको सूचना बाहिरिएको थियो । भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्चस्तरीय भेटघाट गर्ने तय भएको बुझिएको थियो । भ्रमणमा रास्वपा सभापति लामिछानेसहित सह–महामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य तथा प्रवास विभाग प्रमुख दीपकराज बोहरा जाने चर्चा चलेको थियो ।
पछिल्लो समय भारत र नेपालबिचको सम्बन्धमा दरार उत्पन्न भएको बेला रास्वपा सभापति लामिछानेको भ्रमणलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको थियो । लिपुलेक हुँदै चीन र भारतले व्यापार खुला गर्ने सहमतिलाई लिएर नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको विषय मिडियामार्फत सार्वजनिक गरेको थियो । सीमा विवादका कारण भारतीय विदेशमन्त्री विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको बेला परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणसमेत स्थगित भएको थियो ।
प्रधानमन्त्री बालेनले भारत भ्रमणको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणमा जाने/नजाने विषय अनिश्चित छ ।
यस विषयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टी सभापति आफ्नै हिसाबले जान लागेकाले प्रधानमन्त्रीसँग जोडेर हेर्न नमिल्ने स्पष्ट पारेका छन् । रास्वपा सभापति रवि लामिछाने आफ्नो हिसाबले भ्रमणमा जान लागेको र त्यसलाई सरकारको औपचारिक भ्रमणसँग जोड्नु गलत हुने उनले सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा प्रस्ट पारेका थिए ।
‘सभापतिज्यू आफ्नो ढंगले जान लाग्नुभएको हो । यसलाई प्रधानमन्त्रीज्यूको भ्रमणसँग जोडेर हेर्न त पाइयो, तर त्यसको कुनै सम्बन्ध छैन,’ पोखरेलले भनेका थिए ।
लामिछानेले मंगलबार बिहानमात्र कूटनीतिक क्षेत्रका जानकारहरूसँग छलफल गरेको बुझिएको छ । कूटनीति विज्ञहरूले सरकारको नेतृत्व गरिरहेको दलका सभापतिले स्पष्ट एजेन्डाबिना भ्रमणमा जाँदा देश र पार्टीलाई नै अप्ठ्यारो पर्न सक्नेतर्फ सचेत गराएको स्रोतको दाबी छ ।
‘पार्टी सभापतिमात्र होइन, सांसद विदेश भ्रमणमा जाँदा पनि परराष्ट्र मन्त्रालयलाई जानकारी हुनुपर्छ । पार्टीको नियमावलीमा सभापति वा अन्य पदाधिकारी विदेश भ्रमण जाने भए केन्द्रीय समितिले निर्णय गर्नुपर्ने लेखिएको छ’, स्रोतले भन्यो, ‘औपचारिक भ्रमण हो भने आपचारिक, अनौपचारिक हो भने अनौपचारिक रूपमा पार्टीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । भ्रमणको विषयलाई लिएर रविजीले बिहान कूटनीतिक क्षेत्रका व्यक्तित्वसँग छलफल गर्नुभएको थियो ।’
छिमेकी मुलुक भारतसँग कालापानी क्षेत्र, सुस्ता, पञ्चेश्वर आयोजना, लुम्बिनी विमानस्थल लगायत विषयमा गम्भीर विवाद रहेको बेला बिनातयारी भ्रमणमा जान नहुने पार्टीभित्रै आवाज उठेको छ ।
‘छिमेकी मुलुक भारतसँग सीमा सम्बन्धी गम्भीर विवाद छ । सत्तारुढ दलका सभापति बिनातयारी भ्रमणमा निस्किँदा पार्टी र देशका लागि ठुलो समस्या हुनसक्छ’, स्रोतले भन्यो, ‘अहिलेको अवस्थामा भ्रमणमा जाँदा पनि समस्या देखिन्छ । नजाँदा पनि समस्या देखिने भयो । भारत जाँदा को–को जाने ? के–के एजेन्डा लिएर जाने ? भ्रमणको क्रममा कुनै गम्भीर प्रस्ताव ल्याएमा के गर्ने ? यस्ता विषयमा तयारी नगरी जान हुँदैन ।’
पार्टीले निर्णय नगरेकाले सभापति लामिछाने भारत भ्रमणमा जाने÷नजाने निश्चित नभएको पनि स्रोतले बतायो ।
गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको बल, आम नागरिकबिच लोकप्रिय रहेका रवि र बालेनको सम्बन्धका कारण रास्वपा शक्तिशाली पार्टी बनेको थियो । तर जटिल भूराजनीतिमा मुलुक रहेको बेला प्रधानमन्त्री बालेनको अपरिपक्व कूटनीतिक क्षमताका कारण छिमेकसँग सम्बन्ध बिग्रिएको कूटनीतिक क्षेत्रमा चर्चा छ ।



