spot_img

बौधीमाईका मेयरमाथि शिक्षक कुटपिटको आरोप, प्रहरीमा उजुरी

spot_img
spot_img

राैतहट,०४ जेठ । बौधीमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादव माथि एक शिक्षकलाई कार्यालयमै बोलाएर कुटपिट गरेको आरोप लागेको छ। बौधीमाई–८ स्थित श्रीशंकर माध्यमिक विद्यालयका शिक्षक रामबाबु यादवले सामाजिक सञ्जालमा गरेको पोस्टको विषयलाई लिएर आफूलाई दुर्व्यवहार र कुटपिट गरिएको दाबी गरेका हुन्।

शिक्षक रामबाबुका अनुसार शिक्षा संयोजकले फोन गरेर प्रमुख प्रशासकीय अधिकृतले बोलाएको जानकारी दिएपछि उनी नगरपालिका कार्यालय पुगेका थिए। त्यहाँबाट मेयरको कार्यकक्षमा पुगेपछि सामाजिक सञ्जालमा गरेको पोस्टबारे सोधपुछ गरिएको र आफूले पोस्ट गरेको स्वीकार गरेलगत्तै कुटपिट भएको उनको आरोप छ। उनले मेयरको निर्देशनमा केही समय नगर प्रहरीको हिरासतमा समेत राखिएको दाबी गरेका छन्।

रामबाबुले कुटपिटपछि आफूलाई झन्डै ६ घण्टा नियन्त्रणमा राखिएको, औषधि खान समेत नदिएको र राति प्रहरी चौकीसम्म लगिएको बताएका छन्। प्रहरी चौकीले भने शिक्षकलाई बुझ्न अस्वीकार गरेको र पछि आफन्तको जिम्मा लगाइएको जनाइएको छ।

भोलिपल्ट उनले जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिन खोजे पनि प्रमाणसहित आउन भनिएको गुनासो गरेका छन्। “म न्याय खोज्न कहाँ जाऊँ ?” भन्दै उनले घटनाको निष्पक्ष अनुसन्धान माग गरेका छन्।

यता मेयर प्रदिपकुमार यादवले भने सबै आरोप अस्वीकार गरेका छन्। उनका अनुसार शिक्षकलाई कार्यपालिका बैठकमा बोलाएर सामाजिक सञ्जाल पोस्टबारे सामान्य सोधपुछ मात्र गरिएको हो। उनले कुटपिट वा दुर्व्यवहार नभएको दाबी गर्दै घटनालाई “राजनीतिक रूपमा प्रेरित सस्तो नाटक” बताएका छन्।

घटनापछि शिक्षक संगठनहरूले मेयरमाथि कारबाहीको माग गर्दै आन्दोलनको तयारी थालेका छन्। प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय