spot_img

चूडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश

spot_img
spot_img

काठमाडौं,०४ जेठ ।चूडामणि शर्माविरुद्ध दायर दुई वटा भ्रष्टाचार मुद्दामा विशेष अदालतले थप प्रमाण बुझ्ने आदेश दिएको छ। गैरकानुनी सम्पत्ति आर्जन र राजस्व चुहावटसम्बन्धी मुद्दामा अदालतले राजस्वसँग जोडिएका विषयमा थप प्रमाण संकलन गरी पेश गर्न निर्देशन दिएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले यसअघि सर्वोच्च अदालतबाट आएको आदेशअनुसार पुनः सुनुवाइ अघि बढाउँदै प्रमाण परीक्षणको प्रक्रिया अगाडि बढाएको हो।

कर फर्छ्यौट आयोगमार्फत ठूलो परिमाणमा कर छुट दिँदा बदनियत देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरूमाथि करदातालाई १० अर्ब रुपैयाँभन्दा बढी राजस्व छुट दिएर राज्यलाई नोक्सानी पुर्‍याएको आरोप छ।

यसअघि विशेष अदालतले उनीहरूलाई राजस्व चुहावटमा दोषी ठहर गरेको थियो। तर उक्त फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै उनीहरू सर्वोच्च अदालत पुगेपछि सर्वोच्चले निष्पक्ष सुनुवाइमा प्रश्न उठाउँदै पुनः सुनुवाइका लागि मुद्दा विशेष अदालतमै फर्काइदिएको थियो।

यस्तै, चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अर्को मुद्दा पनि विचाराधीन छ। अख्तियारका अनुसार सरकारी सेवामा रहँदा उनले वैध आम्दानीभन्दा धेरै सम्पत्ति जोडेको भेटिएको थियो। अनुसन्धानमा करिब चार करोड रुपैयाँभन्दा बढी रकमको स्रोत नखुलेको दाबी गरिएको छ।

सो मुद्दामा उनकी पत्नी कल्पना उप्रेती शर्मालाई समेत जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। अहिले दुवै मुद्दा विशेष अदालतमा पुनः सुनुवाइको क्रममा रहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय