वीरगंज, ४ जेठ – पार्टीका नेतामाथि लक्षित गरी भएको आक्रमणप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद बद्धिप्रसाद पन्तले कडा निन्दा गरेका छन्। उनले प्रहरीले तत्काल दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।
पार्टी संगठनको कार्यक्रम सम्पन्न गरी वीरगंज फर्किने क्रममा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको गाडीमाथि करिब २०–२५ जनाको समूहले आक्रमण प्रयास गरेको थियो। आक्रमणका क्रममा मिश्र सवार गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ। उक्त गाडीमा पार्टीका जिल्ला सहसचिव कृष्ण पासवान समेत सवार रहेका थिए।
क्षेत्रअन्तर्गत छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीमा आयोजित वडा अधिवेशनमा सहभागी भई फर्किने क्रममा कालिकामाई गाउँपालिका वडा नं. १ स्थित मुडली पुल नजिक आइतबार राति करिब ८ बजे अज्ञात समूहले उनीहरूलाई लक्षित गरी आक्रमण गरेको हो।
सभापति मिश्राले आफूलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको दाबी गरेका छन्। आक्रमणका क्रममा बि.इ.बि. ५७८१ नम्बरको गाडीमा तोडफोड भएको भए पनि उनी सकुशल रहेका छन्।
रास्वपा पर्सा सभापति पन्तले घटनाबारे किटानी जाहेरी दर्ता भइसकेको जानकारी दिँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा नेताहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन्। नेपाल पोस्टसँग कुरा गर्दै उनले एमाले, कांग्रेसलगायतका दलका केही तत्वहरूले पार्टीभित्र घुसपैठ गरी अराजकता मच्चाउने प्रयास गरिरहेको आरोप समेत लगाए।
उनले पर्सामा पार्टीलाई अनुशासित र व्यवस्थित बनाउने विषयमा आफू गम्भीर रहेको उल्लेख गर्दै संगठन विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको बताए। केही वडाहरूमा कार्यक्रम स्थगित हुनु सामान्य प्रक्रिया भएको भन्दै क्रमशः सबै वडामा अधिवेशन सम्पन्न गरिने उनको भनाइ छ।
साथै, पन्तले टिकटको लोभ र आशामा पार्टी प्रवेश नगर्न नवप्रवेशी नेताहरूलाई सुझाव दिएका छन्। पार्टी विधि र पद्धतिअनुसार सञ्चालन हुने भएकाले नयाँ–पुराना सबै नेता तथा कार्यकर्तासँग सहकार्य गर्न तयार भए पनि पार्टीभित्र अराजकता मच्चाउनेलाई कुनै छुट नहुने स्पष्ट पारे।
नेतामाथि आक्रमण गर्ने जोसुकै भए पनि, पार्टीभित्रकै भए पनि, कानुनी कारबाहीको दायरामा ल्याउन आफू प्रतिबद्ध रहेको उनले बताए। साथै, संगठन विस्तारको क्रममा बाह्य घुसपैठबाट सतर्क रहन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।



