सप्तरी,०५ जेठ । सप्तरी जिल्ला अन्तर्गत राजविराज नगरपालिका का विभिन्न चौक तथा मुख्य सडकहरूमा फुटपाथ अतिक्रमण, जथाभावी पार्किङ र सडकमै तरकारी हाटबजार सञ्चालनका कारण ट्राफिक समस्या बढ्दै गएको छ। यसले दैनिक रूपमा दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयहरूले बताएका छन्।
अदालत रोड, मेनरोड तथा सिरहा रोडलगायतका क्षेत्रहरूमा सडकमै पार्किङ गर्ने, तरकारी पसल थाप्ने र साइनबोर्ड राख्ने प्रवृत्तिले पैदल यात्रु र सवारी साधन दुवैलाई आवतजावतमा कठिनाइ भएको छ। स्थानीय बासिन्दा सुभाषचन्द्र यादव का अनुसार जिल्ला अदालतदेखि राम मन्दिरसम्मको सडक क्षेत्रमा दैनिकजसो अव्यवस्था देखिने गरेको छ।
त्यस्तै नेता चौकदेखि हनुमाननगर रोडको मोडसम्म तथा राम मन्दिरदेखि नेता चौकसम्म जाम लाग्ने समस्या नियमित बनेको छ। जथाभावी इ–रिक्सा सञ्चालनले पनि सडक थप साँघुरो बनाएको स्थानीयको गुनासो छ। ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा समस्या झन् बढेको भन्दै स्थानीयहरूले नगरपालिकाले उपयुक्त पार्किङ क्षेत्र तोक्न नसकेको आरोप लगाएका छन्। नगर प्रहरीको अभावले पनि नियन्त्रण कमजोर भएको जनाइएको छ।
नवनीत कुमार झा का अनुसार जथाभावी पार्किङ र पैदल यात्रुको लापरबाहीले दुर्घटनाको जोखिम उच्च बनेको छ। उनले सडक अनुशासन पालना गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
यसैबीच इसरत परवीन ले ट्राफिक व्यवस्थापन सुधारका लागि सरोकारवालासँग छलफल गरी छिट्टै समाधान खोजिने बताएकी छन्। उनले नगर प्रहरी भर्ना प्रक्रिया अघि बढिसकेको र त्यसपछि फुटपाथ तथा पार्किङ व्यवस्थापन प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।



