बीरगन्ज,०५ जेठ । दुर्गा प्रसाईं विरुद्ध अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद प्राप्त गरेको छ। सोमबार राति बीरगन्ज स्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका उनलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा का अनुसार प्रसाईंमाथि सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पार्ने गतिविधि गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ।
प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन र सार्वजनिक शान्तिविरुद्धका कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। उनका सार्वजनिक अभिव्यक्ति, कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिसम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। हरि बहादुर बस्नेत का अनुसार अनुसन्धानका क्रममा आवश्यक प्रमाण तथा विवरण संकलनको काम जारी छ। प्रहरीले कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।



