बीरगन्ज,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लामा संगठन विस्तारका लागि नयाँ रणनीति अपनाएको छ। पार्टीले जिल्ला तहको तदर्थ समिति गठन नगर्ने निर्णय गर्दै अब आफ्नो ध्यान वडा र पालिका अधिवेशनतर्फ केन्द्रित गर्ने भएको हो।
यसअघि बारा जिल्ला समितिमा देखिएको विवादपछि पार्टीले संस्थापक सभापति चन्दन स्वर्णकारलाई पदमुक्त गर्दै जिल्ला समिति नै विघटन गरेको थियो। त्यसपछि केन्द्रीय नेतृत्वले प्रत्यक्ष हस्तक्षेप गर्दै जिल्लामा विस्तारित बैठक आयोजना गरेको थियो।
केन्द्रीय नेताहरूको उपस्थितिमा शनिबार सम्पन्न उक्त बैठकले अब तत्काल जिल्ला समिति बनाउनेभन्दा पनि आधारभूत संरचना मजबुत पार्न वडा र पालिका स्तरबाट संगठन विस्तार गर्ने निष्कर्ष निकालेको हो।
निर्णयअनुसार, वडा अधिवेशन जेठ १२ गतेबाट सुरु हुनेछ भने पालिका अधिवेशन जेठ १७ गतेका लागि तय गरिएको छ। साथै, जहाँ तदर्थ समिति गठन हुन बाँकी छ, त्यहाँ जेठ १३ गतेसम्म प्रक्रिया पूरा गरिनेछ।
पार्टीले वडा र पालिका समिति गठन तथा अधिवेशन व्यवस्थापनका लागि पाँच सदस्यीय प्रतिनिधि टोली खटाउने निर्णय पनि गरेको छ।
रास्वपाको यो कदमले बारा जिल्लामा संगठनलाई तल्लो तहबाट मजबुत बनाउँदै अघि बढ्ने संकेत दिएको छ।




