बीरगन्ज,११ जेठ । बीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् । बीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको आयोजनामा सडकमा उत्रिएका स्थानीयले थाल बजाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सडक पीडित संघर्ष समितिको अगुवाइमा निस्किएको विरोध र्यालीले मेनरोडको विभिन्न भाग परिक्रमा गरी घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारका अनुसार यसअघि नै मन्त्रिपरिषद्को निर्णयबाट त्रिभुवन राजपथलाई मेनरोडको रेखांकनबाट हटाइसकिएको छ । नेपाल सरकारको आधिकारिक वेबसाइट तथा सरकारले प्रकाशन गर्ने ‘रोड डायरी’ मा समेत यससम्बन्धी आवश्यक संशोधन भइसकेको दाबी गर्दै अध्यक्ष रौनियारले अब मेन रोडलाई औपचारिक रूपमा सहरी मार्ग घोषणा गर्न ढिलाइ गर्न नहुने जोड दिए ।
प्रदर्शनमा सहभागी स्थानीय तथा व्यवसायीहरूले मेन रोडलाई सहरी मार्ग कायम गरिएमा यस क्षेत्रको यातायात व्यवस्थापन सहज हुने, व्यापारिक गतिविधि बढ्ने र सहरी सौन्दर्यीकरणमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन् ।
लामो समयदेखि अन्योलमा रहेको यो मुद्दालाई सरकारले शीघ्र सम्बोधन नगरे आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने चेतावनी समेत संघर्ष समितिले दिएको छ ।



