बीरगन्ज,११ जेठ । नेपाली सेना अन्तर्गतको श्री श्रीजग गण बीरगन्जले विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यवहारिक अभ्यास तालिम सम्पन्न गरेको छ । वीरगञ्जस्थित घडिअर्वा पोखरी परिसरमा आयोजित उक्त कार्यक्रम प्राकृतिक विपद्का समयमा हुने जनधनको क्षति न्यूनिकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो ।
श्री श्रीजग गण बीरगन्जका प्रमुख कर्नेल लोकेन्द्र बहादुर कार्कीको नेतृत्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १० का कार्यवाहक अध्यक्ष सन्तोष जैसी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । त्यसैगरी वडा नं. ८ का अध्यक्ष रितेश गुप्ता, घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साह, पूर्व अध्यक्ष दिलीप साह कानु, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साह लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा श्री राम चरण साह पन्नालाल माध्यमिक विद्यालय का शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।
तालिमका क्रममा नेपाली सेनाले बाढी तथा अन्य प्राकृतिक विपद्का समयमा अपनाउनुपर्ने सावधानी, डुब्न लागेको अवस्थामा सुरक्षित रहने उपाय तथा उद्धार प्रक्रियाबारे व्यवहारिक प्रदर्शन गरेका थिए । सेनाका जवानहरूले डोरी, लाइफ ज्याकेट, ट्युब लगायत स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरी डुब्न लागेका व्यक्तिलाई सुरक्षित स्थानमा कसरी उद्धार गर्ने भन्ने अभ्यास प्रस्तुत गरेका थिए ।
त्यसैगरी पानीको तीव्र बहावमा फसेका व्यक्तिको उद्धार, टोलीबीचको समन्वय, प्राथमिक उपचार तथा विपद्को समयमा नागरिकले अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समेत जानकारी दिइएको थियो ।
कार्यक्रममा सहभागी स्थानीयवासी तथा विद्यार्थीहरूले यस्तो अभ्यासले विपद्को समयमा आवश्यक ज्ञान र आत्मविश्वास बढाउने बताएका थिए । विशेषगरी वर्षायामसँगै बाढीजन्य जोखिम बढ्दै गएको अवस्थामा यस्ता व्यवहारिक तालिम समुदायका लागि अत्यन्त उपयोगी हुने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि तथा अन्य वक्ताहरूले विपद्को समयमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।



