बीरगन्ज,११ जेठ । बीरगन्ज महानगरपालिका वडा नम्बर ६ को सहयोग तथा फेसियल हाउस ब्युटि पार्लर एण्ड ट्रेडिङ सेन्टर, बीरगञ्ज पर्साको आयोजनामा सञ्चालित ४५ दिने महिलाहरूको ब्युटिसियन तालिम सोमबार एक समारोहबीच सम्पन्न भएको छ।
फेसियल हाउस ब्युटि पार्लर एण्ड ट्रेडिङ सेन्टरकी अध्यक्ष सुनिता परियारको अध्यक्षता तथा बीरगन्ज महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश साह अग्रवालको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो।
समापन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष अग्रवालले तालिममा सहभागी महिलाहरूलाई सिकेका सीपहरू व्यवहारमा उतार्न आग्रह गरेका छन्। उनले तालिम केवल औपचारिकतामा सीमित नभई आत्मनिर्भरता र आयआर्जनको माध्यम बन्नुपर्नेमा जोड दिए।
उनले भने, “हामीले वडामा रहेका महिलाहरूलाई दक्ष बनाउने र परिवारलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले वडा स्तरीय बजेटमार्फत यस्ता सीपमूलक तालिम सञ्चालन गर्दै आएका छौँ।”
कार्यक्रममा वडा सदस्यहरू राजु खड्गी, पवन शर्मा, वडा सचिव गंगा कुमारी पौडेल, सध्या रौनियार, पत्रकार जगत राई, सध्या कुमारी साह, प्रकाश परियार लगायतको उपस्थिति रहेको थियो।
तालिममा प्रशिक्षकका रूपमा सुनिता परियार र मधु चौधरीले प्रशिक्षण दिनुभएको थियो। फेसियल हाउस ब्युटि पार्लर एण्ड ट्रेडिङ सेन्टरकी अध्यक्ष परियारका अनुसार तालिममा ३५ जना महिलाहरूको सहभागिता रहेको थियो।
तालिमले सहभागी महिलाहरूलाई आत्मनिर्भर बन्न महत्वपूर्ण सीप प्रदान गरेको आयोजकले जनाएको छ।




