बीरगन्ज,२६ जेठ । भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत रक्सौलस्थित मैत्री पुलमा वैध भिसा तथा आवश्यक कागजातबिनै भारत प्रवेश गर्न खोजेको आरोपमा दुई विदेशी नागरिक पक्राउ परेका छन्।
दैनिक सुरक्षा जाँचका क्रममा भारतीय सुरक्षा निकायले म्यानमारका आङ निङ ल्याट (Aung Ning Latt) र स्विट्जरल्यान्डकी जुनिला बेक श्रेष्ठ्रा (Junila Beck Shrestha) लाई नियन्त्रणमा लिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार हरैया थाना क्षेत्रअन्तर्गत रहेको मैत्री पुलमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई रोकेर सोधपुछ गरिएको थियो। त्यसपछि दुवैलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरिएको हो।
हरैया थाना प्रमुख कृष्ण पासवानका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न मोतिहारी अदालत पठाइएको छ। उनीहरूको यात्रा उद्देश्य र कागजातबिनै प्रवेश प्रयासको कारणबारे पनि अनुसन्धान भइरहेको छ।
प्रहरी विवरणअनुसार म्यानमारका नागरिक आङ निङ ल्याट याङ्गुनको मायाङ्गोन क्षेत्रका बासिन्दा हुन् भने स्विट्जरल्यान्डकी जुनिला बेक श्रेष्ठ्राको स्थायी बसोबास लाउफेनबर्ग रहेको बताइएको छ।
भारत–नेपाल खुला सीमामा विदेशी नागरिकको आवागमनलाई लिएर निगरानी कडा बनाइएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको सुरक्षा निकायले जनाएको छ।




