काठमाडौं,२७ जेठ । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।
आईपीओमा कुल २९ लाख १ हजार ९२४ जनाको आवेदन परेको थियो । यीमध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन सदर भएको थियो । बाँकी ४१ हजार १५८ को आवेदन बदर भएको थियो ।
सदर आवेदनमध्ये २ लाख ८७ हजार जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकीको हात रित्तो भएको छ । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको २८ लाख ७० हजार कित्ता सेयर आम सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
बझाङमा कम्पनीले १५.३३ मेगावाटको कालंगागाड आयोजना बनाएको छ । जसको कुल लागत ४ अर्ब ३३ करोड तथा प्रतिमेगावाट लागत २८ करोड ३० लाख रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ ।
गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५३ पैसा छ । त्यस्तै सञ्चित नाफा ४ करोड ६२ लाख रुपैयाँ छ ।




