spot_img

विश्वसनीय पत्रकारिता प्रवर्द्धनका लागि मिडिया काउन्सिल मधेशको पहल

spot_img
spot_img

जनकपुर,१२ असार । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा ‘विश्वसनीय, मर्यादित र व्यवसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा र लैङ्गिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ महोत्तरीको बर्दिबासमा सुरु भएको छ।

पत्रकारितामा विश्वसनीयता, व्यावसायिकता, आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा लैङ्गिक रूपमा संवेदनशील भाषा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।

कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा तथा वरिष्ठ पत्रकार धर्मेन्द्र झालगायतले तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारिताको आवश्यकतामाथि जोड दिएका थिए।

उनीहरूले पत्रकारिता केवल सूचना सम्प्रेषण गर्ने माध्यम मात्र नभई समाजलाई सही दिशा दिने जिम्मेवार पेशा भएको उल्लेख गर्दै सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण नै पत्रकारिताको आधार भएको बताए। पत्रकारिताप्रति जनविश्वास कायम राख्न सञ्चारमाध्यम र पत्रकारहरूले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा वक्ताहरूले विशेष जोड दिए।

त्यसैगरी, समाचार लेखन र सम्प्रेषणका क्रममा प्रयोग हुने भाषा मर्यादित, समावेशी तथा लैङ्गिक रूपमा संवेदनशील हुनुपर्ने धारणा व्यक्त गर्दै सञ्चारमाध्यमले सामाजिक सद्भाव, सकारात्मक सोच र उत्तरदायी नागरिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।

आयोजकका अनुसार कार्यक्रममा सहभागी पत्रकारहरूलाई पत्रकारिता आचारसंहिता, जिम्मेवार समाचार सम्प्रेषण, भाषा प्रयोगका मापदण्ड तथा लैङ्गिक संवेदनशीलतासम्बन्धी विषयमा अभिमुखीकरण प्रदान गरिनेछ।

मिडिया काउन्सिल मधेश प्रदेशले यस्ता कार्यक्रममार्फत पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै विश्वसनीय, मर्यादित र व्यवसायिक पत्रकारिताको विकासलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय