सर्लाही,१२ जेठ । मधेश प्रदेशमा विगत चार महिनादेखि एन्टि–रेबिज भ्याक्सिन (एआरभी) अभाव हुँदा कुकुरले टोकेका बिरामीहरू उपचारका लागि सास्ती भोग्न बाध्य भएका छन्। सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुने भ्याक्सिन फागुनयता नआएपछि बिरामीहरूले निजी औषधि पसलबाट महँगोमा खरिद गरेर लगाउनुपरेको छ।
प्रदेशका ४४ वटा अस्पताल तथा स्वास्थ्य संस्थामा नियमित रूपमा एन्टि–रेबिज भ्याक्सिन उपलब्ध गराइँदै आएको भए पनि पछिल्लो चार महिनादेखि आपूर्ति ठप्प भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरकी लक्ष्मी रायमाझीले कुकुरले टोकेपछि आफ्ना ससुरालाई भ्याक्सिन लगाउन नगर अस्पताल लालबन्दी पुर्याउँदा भ्याक्सिन नपाएपछि बाहिरबाट किनेर लगाउनुपरेको गुनासो गरिन्। निजी पसलमा एक डोज भ्याक्सिनको मूल्य ६ सयदेखि ७ सय रुपैयाँसम्म पर्ने गरेको छ।
नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार एन्टि–रेबिज भ्याक्सिनको अभाव प्रायः भइरहने समस्या भए पनि फागुनदेखि भने आपूर्ति पूर्ण रूपमा बन्द भएको छ। उनका अनुसार अस्पतालका लागि प्रतिमहिना १२० भाइल कोटा तोकिए पनि पर्याप्त मात्रामा कहिल्यै भ्याक्सिन नआउने र आएको पनि केही दिनमै सकिने गरेको छ।
प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामप्रकाश साहले प्रदेशबाटै भ्याक्सिन नआउँदा बिरामीको गुनासो अत्यधिक बढेको बताए। उनले माथिल्लो निकायबाट आपूर्ति नहुँदा अस्पतालहरू समस्यामा परेको स्पष्ट पारे।
स्वास्थ्य अधिकारीहरूका अनुसार मधेश प्रदेशका लागि मासिक ७ हजार ५ सय भाइल भ्याक्सिन आवश्यक पर्ने भए पनि संघीय सरकारले कहिले २ हजार, कहिले ५ हजार भाइल मात्र पठाउने गरेको छ। कोटाअनुसार कहिल्यै आपूर्ति नहुँदा समस्या झन् गम्भीर बनेको हो।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरका निमित्त निर्देशक डा. नागेन्द्रप्रसाद यादवले संघीय तहबाट आपूर्ति नहुँदा मधेशभर भ्याक्सिन अभाव भएको बताए। उनका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा खरिद गरेको ७५९ भाइल खोपसमेत केही दिनमै सकिएको थियो।
डा. यादवले यो समस्या मधेशमा मात्र नभई देशभर देखिएको उल्लेख गर्दै एन्टि–रेबिज भ्याक्सिनको सहज आपूर्ति प्रणाली अझै प्रभावकारी बन्न नसकेको बताए।



