spot_img

हावाहुरीले कोशीमा विद्युत् अवरुद्ध, मोरङ–सुनसरी प्रभावित

spot_img
spot_img

विराटनगर,१२ जेठ । गएराति आएको तीव्र हावाहुरीसहितको वर्षाले मोरङ र सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् पूर्वाधारमा क्षति पुर्‍याउँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

मोरङको बेलबारी र सुनसरीको दुहबी क्षेत्रमा विद्युत्का पोल ढल्नुका साथै तार चुँडिँदा सेवा प्रभावित भएको हो। विराटनगर मा समेत हिजो रातिदेखि नै विद्युत् अवरुद्ध रहेको छ, जसका कारण जनजीवन प्रभावित बनेको छ। केही स्थानमा आंशिक रूपमा सेवा पुनःस्थापना भए पनि धेरै क्षेत्रमा अझै समस्या कायम रहेको जनाइएको छ।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख कमल आचार्यका अनुसार बेलबारी क्षेत्रमा मात्रै २२ वटा उच्च भोल्टेज (एचटी) र ४ वटा न्यून भोल्टेज (एलटी) गरी कुल २६ वटा पोलमा क्षति पुगेको छ। विशेषगरी ११ केभी लाइनमा बढी क्षति देखिएको उनले बताए।

उनका अनुसार, “बेलबारीमा मात्रै २२ वटा ११ केभीका एचटी पोल र ४ वटा ४०० भोल्टका एलटी पोल भाँचिएका छन्, मर्मतका लागि टोली खटिसकेको छ।” त्यस्तै, दुहबी क्षेत्रमा ३३ केभी क्षमताको प्रसारण लाइनमै क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ, जसले गर्दा त्यहाँ विद्युत् आपूर्ति पूर्ण रूपमा प्रभावित बनेको छ।

प्राधिकरणले अवरुद्ध विद्युत् सेवा आज साँझसम्म अस्थायी रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ। तर संरचनामा पुगेको क्षतिका कारण पूर्ण रूपमा सेवा सुचारु हुन भने केही दिन लाग्ने अनुमान गरिएको छ।

आचार्यका अनुसार लाइन पुनःसञ्चालनमा ल्याउन धेरै समय नलागे पनि भाँचिएका पोल प्रतिस्थापन गर्न दुईदेखि चार दिनसम्म लाग्न सक्छ। साथै, गर्मी मौसमका कारण बेलुका ‘पिक लोड’ बढ्ने हुँदा वैकल्पिक व्यवस्थाबाट पनि सबै क्षेत्रमा पर्याप्त विद्युत् आपूर्ति गर्न चुनौती रहने बताइएको छ।

हाल प्राधिकरणले प्रदेशका अन्य प्रभावित क्षेत्रको विवरण संकलन गरिरहेको छ भने प्राविधिक टोलीहरू अवरुद्ध लाइन खुलाउन तीव्र गतिमा परिचालन गरिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय