काठमाडौँ,१२ जेठ । प्रतिनिधि सभा सदस्य महावीर पुनले ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार कोषमा थन्किएको अर्बौँ रकम तत्काल परिचालन गर्न सरकारसँग माग गरेकाे छ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेको कोषमा करिब १६ अर्ब रुपैयाँ मौज्दात रहे पनि प्रभावकारी रूपमा खर्च हुन नसक्दा ग्रामीण क्षेत्रका नागरिक अझै सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको बताए । उक्त कोष २०५३ सालदेखि सेवाग्राहीबाट टेलिफोन सेवामा २ प्रतिशत रकम कट्टी गरी संकलन हुँदै आएको हो।
उनले “सरकारसँग बजेट अभाव होइन, भएको स्रोत उपयोग गर्न नसक्नु नै समस्या हो” भन्दै सञ्चार मन्त्रालय र सम्बन्धित निकायलाई कोषको रकम परिचालन गर्न दबाब दिनुपर्ने धारणा राखे ।
यसैबीच, काठमाडौँ उपत्यकामा ट्याक्सीको नयाँ दर्ता लामो समयदेखि बन्द हुँदा सिन्डिकेट मौलाएको भन्दै उनले सो व्यवस्था हटाउन पनि जोड दिए । उनका अनुसार २०५७ सालमा करिब ७ हजार ५ सय ट्याक्सी दर्ता रहेकोमा २०७२ सालको भूकम्पपछि थप १ हजार ५ सय ट्याक्सी थपिएर हाल झण्डै ९ हजारको हाराहारीमा मात्रै सञ्चालनमा छन्।
पछिल्ला वर्षहरूमा जनसंख्या उल्लेख्य रूपमा बढे पनि ट्याक्सी संख्या नबढ्नुले मिलेमतो र एकाधिकारलाई प्रश्रय दिएको उनको तर्क छ। नयाँ दर्ता खुलाएर स्वरोजगारका अवसर सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने उनले माग गरे ।



